Monday, October 3, 2011

घामको चुम्बनले देश चिनाउँछ – युवराज नयाँघरे

निबन्धकार युवराज नयाँघरेको नवीनतम् नियात्रा संग्रह हालै बजारमा आएको छ – घामको चुम्बन । निबन्ध र नियात्रा लेखेर कहिल्यै नथाक्ने नयाँघरेको प्रस्तुत कृति निकै नै चर्चित भएको छ पाठकमाझ । २०६५ सालको मदन पुरस्कार बिजेता नयाँघरेको नियात्रा लेखनबारे र घामको चुम्बनको सेरोफेरेमा गरिएको कुराकानी प्रस्तुत छ ।



· तपाइँको नयाँ कृतिको हालखबर के छ ? 

नयाँघरे : ‘घामको चुम्बन’ क्रमश: पाठकहरुले रुचाइरहेको पाएको छु । यात्राको चोखो स्वाद र नेपालको सुन्दरता यस कृतिमा रहेको पाठकीय प्रतिकृया मैले पाएको छु । अहिले यसको माग भइरहेको छ ।

·    ’घामको चुम्बन’ अरु लेखनभन्दा के कति भिन्न छ ? 

नयाँघरे : निश्चय नै भिन्न कृति हो यो । यात्राको सोझो र कोरा बयान यहाँ छैन । भाषाको कलात्मक प्रस्तुति र अनुभूतिको हार्दिक बयान यहाँ पाठकहरुले भेट्‍न सक्छन् ।

·    नेपालको कुन – कुन भूभागको बयान छ यस कृतिमा ? 

नयाँघरे : पूर्व इलामदेखि पश्चिमी सिमाना महाकाली नदी टेक्दाका अनुभव र सूचना यहाँ लिपिवद्ध छन् । सगरमाथा देखि तराइका सुन्दर गाउँबस्ती पुग्दाका दृश्यहरु मैले यहाँ उतारेको छु । पहाडी खोँचदेखि तराइका समथरसम्म समेटेको छु मैले यहाँ ।

·    सामाजिक र सांस्कृतिक पक्षहरुको बृतान्त कतिको उतार्नु भएको छ ?

नयाँघरे : प्रशस्तै उतारेको छु मैले । घुमघामको क्रममा त्यहाँको जनजीवन र लोक सभ्यताको प्राप्तिलाइ नियात्रामा नउतारे त्यो कमजोर हुन्छ । यतातिर म सचेत छु । घरगाउँका अनेक दृश्य र ती दृश्यका पछाडी थपक्क रहेका भावलाइ म लेख्न रुचाउँछु । पात्रले बोलेका कुरा, व्यवहार र प्रभावलाइ जति धेरै नियात्रामा उतार्‍यो – उति रचना शक्तिशाली र यथार्थपरक हुन्छ । मेरो नियात्रा लेखनमा यी कुरा बढ्‍ता छन् भन्ने लाग्छ ।
·    घामको चुम्बनमा स्थानीयता कतिको छ नि ? 
नयाँघरे : नियात्राकारले स्थानीय पक्षलाइ किनार लगाएर लेखेको रचना फोस्रो, नक्कले र काठेमूला जस्तो हुन्छ । मैले घामको चुम्बनमा पिँढीमा बस्दा फाइफस्टारको रोस्टेड चिकेनको बयान गरेको छैन । जुकाले टोकेर हैरान पारेको बेला खरानी खोजेको छु – एन्टिबायोटिक खोजेको छैन । साँचो नियात्रा लेखनमा इमानदारीताको तीब्रता भेटिन्छ ।

·    भाषिक सुन्दरता कतिको छ यस संग्रहमा ? 

नयाँघरे : म यो मामलामा एकदमै सचेत छु । अघिल्ला संग्रहहरुको प्रतिकृयाबाट म उत्साहित छु । ग्रामिण सुन्दरता, हाम्रा बस्तीहरुको ठेट बोलीचाली र संस्कृतिलाइ खिप्न उद्यत छु यस संगालोमा पनि । नेपाली भाषाको चोखो रुप र स्वाद पस्केको छु यस कृतिमा ।

·    नेपालको बृतान्त गर्दा समानता के भेट्‍नु भो तपाइँले ? 

नयाँघरे : सुन्दरता । नेपालका हरेक ठाउँ र परिवेश पि्य छन । अझ कति विध्वम्स भइरहेका सम्पदा समेत छन । नेपालका पहाड, तराइ र मधेसमा विविधता भए पनि सांस्कृतिक निधि भने विशिष्ट खालको छ ।

·    ’घामको चुम्बन’ माफत केहि सन्देश छन् कि ? 

नयाँघरे : पर्यटन बर्षमा साहित्यको कोशेलीको रुपमा यो कृति आएको हो । घामको चुम्बनले देश चिन्न सबैलाइ सघाउ पुर्‍याउने मैले ठानेको छु ।

No comments:

Post a Comment