Monday, October 3, 2011

नया घरेको “घामको चुम्बन” -तेजकुमार श्रेष्ठ


निबन्ध विधाका वर्तमान पुस्ताका सशक्त हस्ताक्षर हुन् युवराज नयाँघरे । संवेदनाका स्वरहरू, मुहर्तको वरिपरि, मखुन्डाको मन, काठमाडौलाई कोर्रा ,नीलडाम, एक हातको ताली (मदन पुरस्कार प्राप्त) जस्ता निबन्ध कृति र अनाम पहाडमा फनफनी नियात्रासङ्ग्रह प्रकाशन गरेर चर्चाको शिखर टेसिकेका नयाँघरे घामको चुम्बन नामक दोस्रो नियात्रासङ्ग्रह लिएर पाठकसामु उपस्थित भएका छन् ।
यात्रा हरेक मान्छेको जीवनमा आइरहने प्रवाह हो । नयाँ ठाउँ, बस्ती, जीवन, परिवेश नियाल्न हरेक मान्छे उत्सुक रहन्छ । हरेक मान्छेका मनमा उत्साही छालहरू सलबलाइरहेका हुन्छन् । कसैले ती उत्साहरूपी सलबलाइलाई मनमा कुण्ठित पार्छन् त कसैले कृतिमार्फ प्रस्तुत गर्छन् । त्यही सलबलाइको परिणामस्वरूप नयाँघरेको घामको चुम्बन नामक नियात्रासङ्ग्रहको जन्म भएको हो ।
तेइसवटा नियात्रा समावेश गरिएको प्रस्तुत कृत्रिमा प्राकृतिक सुन्दरताको अवलोकन, भौगोलिक विकटताको पहिचान, विविध धर्म, संस्कृति, समाज र देशप्रतिको आस्थाजस्ता विषय समेट्न र आफूले देखेको, भोगेको अनुभूतिलाई यथार्थ रूपमा, सरल भाषाशैलीमा प्रस्तुत गर्न सफल छन् नयाँघरे ।
प्रस्तुत सङ्ग्रहमा हवाईजहाजबाट सगरमाथा नियाल्दादेखि फिक्कल, इलाम, पशुपतिनगर, जोगमाई, नौडाँडा, सराङकोट, बागलुङ, नवलपरासीको स्यालमाराघाट र बाघ, भालु, गैँडा बस्ने पटेर जङ्गल, लुम्बिनीको देवदह, गौतम बुद्धको मामाघर, चितवन राष्ट्रिय निकुञ्ज, काँकडभिट्टा, इटहरी, शनिश्चरे, भद्रपुर, पाल्पाको बाँसटारी, पाल्पाकै दमकडाबजार, माडीफाँट, राप्तीको पटयारलाग्दो जङ्गल, काभ्रेको पाँचखाल, वीरगन्ज, सिर्सिया, अलौबस्ती, गण्डकनहर, कलैया, परासी, स्रि्रौनगढको कङ्कालीमाई मन्दिर, सन्धिखर्क, जङ्गबहादुर राणाले तिब्बतसँग युद्ध लड्दाको ढुङ्नागढी र काठमाडौँको फूलचोकी, जामाचो, नगरकोट घुम्दाको अनुभूति कलात्मकताका साथ प्रस्तुत गरेका छन् नयाँघरेले ।
नियात्राकार विभिन्न समयमा विभिन्न स्थानमा पुगेका छन् र तत्जन्य अनुभूति, विभिन्न यात्राको अनुभव, त्यसमा प्रस्तुत भएका अभिव्यक्ति, सर्न्दर्भ, त्यसको घटना विवरण, धार्मिकस्थलको महत्त्व, प्राकृतिक दृश्यहरूको सुन्दरता, आकर्षा नेपाली परिवेश, जीवनपद्धति, त्यहाँको विशेषता, यात्रावर्णन सर्न्दर्भमा नेपाली समाजमा देखा परेका अनौठा परिस्थिति, स्थानीय रहनसहन, समाज, संस्कृति, मान्छेसितको सम्बन्ध, चालचलन, विकास निर्माणका सम्भावना, गरिबीका कारण नेपालीहरूले भोग्नुपरेका समस्या, गरिबीकै कारण विभिन्न अवसरबाट वञ्चित हुनुपरेको अवस्था र छिमेकी मुलुकको हेपाहा प्रवृत्तिजस्ता विविध विषयहरूलाई समाविष्ट गरका छन् नयाँघरेले ।
कहालीलाग्दो भौगोलिक विकटतामा पनि प्रकृतिको मनोरम दृश्यावलोकन गराउने सामर्थ्य राखेर, प्रकृतिको मोह, मान्छेसितको आत्मीयता, ग्रामीण जनजीवनप्रतिको स्नेह र ममतामूलक समाजको परिकल्पनाजस्ता कुराहरूलाई प्रस्तुत गरिएको छ कृतिमा । यात्रामा विभिन्न जोखिम मोल्नुपरे पनि मानवीय मूल्य र मान्यताभित्र जीवनको र्सार्थकता खोज्न सफल छन् नयाँघरे । प्रत्येक रचना निश्चित गन्तव्यको खोजीमा गतिशील बनिरहन्छन् र निश्चित उद्देश्य बोकेर हिँडेको मान्छे यात्राबाट र्फकन हुँदैन भन्ने सन्देश दिन्छन् नयाँघरे ।
प्रस्तुत कृतिभित्रको ‘महाकालीमा छुटेको मन’ शीषर्क यात्रामा टनकपुर पुगेपछि यसो भन्छन् नयाँघरे, ‘कस्तो विलियो मन, कस्तो भक्कानियो हृदय, कस्तो कौलासियो छाती । हामी पानीविहीन बनेको देखियो त्यहाँ, हामी हेपाहालाई शिरमा लिएर बोक्ने निमुखा बनेको देखियो त्यहाँ, हामी नपुंसकहरूको कमारो देखियो त्यहाँ ।’ त्यसैगरी ‘टनकपुर घुमेपछि एक शब्द प्रेमको भएन, एक वाक्य खुसीको भएन र एक खित्का हाँसो ओठमा आएन’ भनी आफ्ना भावना व्यक्त गरेका छन् उनले । यस्ता कृतिहरू पछि पनि पढ्न पाइयोस् र अझ सशक्त सिर्जनाको प्रेरणा मिलोस् भन्ने कामना !
कृति – घामको चुम्बन
कृतिकार – युवराज नयाँघरे
विधा – नियात्रासङ्ग्रह
प्रकाशक – रत्न पुस्तक भण्डार, काठमाडौँ
संस्करण – प्रथम, २०६७
मूल्य – रु. २७५/-

No comments:

Post a Comment