युवराज नयाँघरे वरिष्ठ साहित्यकार हुन् । यिनले भर्खरै वर्ष २०६५ का लागि मदन पुरस्कार पाएका छन् । यो पुरस्कार नेपाली साहित्यको सबैभन्दा ठूलो पुरस्कार हो ।
वि.सं. २०२६ सालमा इलाममा जन्मिएका नयाँघरे निकै राम्रा निवन्ध र यात्रा संस्मरणहरु लेख्छन् । उनका निबन्धका ६ वटा र यात्रा संस्मरणको एउटा गरी ७ वटा कृतिहरु प्रकाशित छन् ।
नयाँघरे नेपाली निवन्धलाई सरल, रसिलो र पढ्दा मज्जा आउँने गरी लेखेर पाठकमाझ आकर्षण बढाउँन सफल लोकप्रिय लेखक हुन् । उनको पछिल्लो निवन्ध कृति 'एक हातको ताली' बाट उनले मदन पुरस्कार पाएका हुन् । यो पुरस्कार बाहेक उनले राष्ट्रिय प्रतिभा पुरस्कार, उत्तम शान्ति पुरस्कार, मोती पुरस्कार, अर्न्तर्राट्रिय नेपाली साहित्य समाज उत्कृष्ट पुस्तक पुरस्कार (अमेरिका), शंकर लामिछाने युवा निवन्ध पुरस्कार, भूपालमान कार्की युवा साहित्य पुरस्कारलगायत थुप्रै पुरस्कार र सम्मानहरु पाएका छन् । उनको निवन्ध त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा पढाइ हुँदै आएको छ ।
अमेरिका, जापान, सिंगापुर, भारत, भूटान र नेपालका ६० जिल्लाको भ्रमण गरेका वरिष्ठ लेखक नयाँघरेको बाल्यकालको सम्झनालाई यस अंकमा प्रस्तुत गरेका छौं । उनी आफ्नो सम्झना सुनाउँदै भन्छन्
बाल्यकालदेखि नै उत्सुक मानिस हुँ म ।
मलाई केटाकेटीदेखि नै सबै प्राणी र जीवजन्तुको गतिविधिले आकर्षित गर्थ्र्यो । रुखहरु कसरी हल्लन्छन्, पानीमुनिका लेउ कसरी बाँच्छन्, पखेटाबिनै भ्यागुता पानीमा कसरी दगुर्छन् जस्ता कुराले मेरो मनमा प्रश्न उब्जाइरहन्थे ।
वि.सं. २०२६ सालमा इलाममा मेरो जन्म भएपनि बाल्यकाल धेरै ठाउँमा बित्यो । झापा, मोरङ र भारतका केही ठाउँमा मैले बाल्यकाल बिताएँ । यसैले मेरा स्थायी साथीहरु भएनन् । म बिरामी धेरै हुने हुनाले धेरै ठाउँमा राखी मलाई हुर्काइयो ।
म अलिक एकान्तप्रेमी थिएँ । होहल्लामा पटक्कै बस्न, लेख्न सक्दिन ।
सानोमा मेरो स्मरण शक्ति एकदम तीब्र थियो । भूगोल, इतिहास, साहित्य र पत्रपत्रिका प्रति मेरो विशेष रुचि थियो । सामान्यज्ञानमा भएका साहित्य वारेका जानकारीहरु र भूगोल खण्ड खूब मनपर्थ्र्यो मलाई ।
संसारका सबै देशका राजधानी र सरकार प्रमुखहरुको नाम कन्ठै पार्थें । सामान्यज्ञानमा पढिएका नामहरु अहिले पनि मेरो मनमा छँदै छन् ।
मेरा साथी पुस्तक थिए ।
म अलिक ठूलो भएपछि ठूला दाइ र दिदीका किताब पढ्न थालें । नबुझे पनि पत्रिकाका सबै समाचार पढ्थें म ।
खास गरी गोठाला जाँदा म भैसीमाथि चढेर पुस्तक पढेरै दिन बिताउँथें । भैसीमै चढी पुस्तक पढ्दै निदाउँथें, ब्यूझन्थें ।
म अलिक लाज मान्ने खालको मानिस हुँ । अहिले पनि म अरुसँग खुलेर कुरा गर्दिन ।
म सानो छँदा, गाउँमा कोही नयाँ दुलही आए भने मलाई अति लाज लाग्थ्यो । एकपटक साह्रै तिर्खा लागेर भूजेलका घरमा पानी खान गएँ । घर बाहिरकी बूढीले भनिन्- दुलही, पानी ल्याइदे बाहुन नानीलाई !
नभन्दै भर्खरै विवाह भएर आएकी नौली दुलही देखेर म टाप ठोकें । मलाई नयाँ दुलही देखेर अति नै लाज लाग्थ्यो ।
म यात्राको सौखीन हुँ ।
कतिपटक घरबाट स्कुल हिडेको मान्छे- अन्तै डुलेर तीन चार दिनमा घर आएको छु । त्यति बेला मलाई घरकाले गाली हैन, नयाँ ठाउँको वारेमा भन्न लगाउँथे ।
मलाई नाच्न, गाउँन कहिल्यै आएन । केटाकेटीमा मैले यतातिर उत्तिको ध्यान दिइन ।
मलाई पुस्तक साह्रै मनपर्थे । म एक रातमा सिंगै पुस्तक पढिसक्थें । हिन्दीमा लेखिएका वार एण्ड पिस, महाभारत, प्रेमचन्द र रवीन्द्रनाथ टैंगोरका गीतान्जली मैले एक-एक रातमै पढी सकेको हुँ । परीक्षाको अघिल्लो दिन पनि साहित्यका पुस्तक पढ्थें म । यसले गर्दा धेरै पटक मेरो पढाइ कमजोर भएको छ ।
त्यो बेला मेरो गाउँमा मट्टितेलको दुःख थियो । त्यसैले राती अबेरसम्म बत्ती बाल्न पाइन्नथ्यो । त्यसैले गृहकार्य दिउँसै र स्कुलमै गर्थें म । अनि पुस्तक पसलबाट भाडामा ल्याएका किताबहरु म रात-रातभर सिरकले बत्ती छोपेर अरुले थाहा नपाउँने गरी पढ्थें । अर्को दिन किताब नबुझाए जरिबाना तिर्नुपर्दथ्यो । त्यो बेला घरबाट दिने साताको एक सुका पैसा मैले यसरी नै किताब पढेर सक्थें । दाजु र साथीहरु त्यो पैसा खैनी खाएर सिध्याउँथे । विद्या पुस्तक पसल मोरङबाट किताब लगेर पढ्थें म ।
संसारका उत्कृष्ट साहित्यका पुस्तकहरु मैले त्यतिखेरै पढें । लेखनाथ, देवकोटा, रवीन्द्रनाथ, अन्तोन चेखब, शेक्सपियर र टाल्सटायका नेपाली र हिन्दीमा लेखिएका पुस्तकले मलाई नयाँ बाटो देखायो र आज लेखक बनायो ।
म सानोमा लाज मान्ने र डराउँनेखालको मान्छे थिएँ ।
एकपटक झापा अनारमनि महेन्द्र रत्न माविमा कविता सुनाउँन नाम लेखाएँ । तर वाचन गर्न डर लाग्यो । मेरो कविता अरुले नै सुनाए । मैले रुखमा चढेर आफ्नो कविता अरुको मुखबाट सुनें । म आफै सुनाउँन डराउँथें । धेरै पटक कविता सुनाउँन नाम लेखाएँ तर सुनाउँन गइन । तर सँधै रुख चढेर सुन्थें आफ्नो कविता ।
हरेक शुक्रवार साहित्यिक कार्यक्रम हुन्थ्यो । एकपटक आफ्नो कविता सुनिसकेपछि रुखबाट ओर्लदै थिएँ- हेड सर दाताराम शर्माले मलाई च्याप्प समात्नु भयो । र, खारेर सोध्नुभयो । मैले सबै कुरा बताइदिएँ ।
त्यो दिनदेखि मन्चमा गएर कविता सुनाउँन अलिअलि आँट गर्न थालें । म भावुक र कल्पनामा हराउँने मान्छे हुँ । बाल्यकालमा म गाउँगाउँ डुल्थें । बिहानै देखि हिडेको मान्छे बेलुकामात्र घर र्फकन्थें ।
म घरमा बाठो छोराको रुपमा गनिन्थे । मेरा एक भाइ र दुइ दाइहरु छन् । त्यस्तै एक दिदी र दुइ बहिनीहरु छन् । म कृषकको छोरा हुँ । मेरा परिवारमा कला, साहित्यमा अरु कोही लागेका छैनन् ।
म जतिखेरै पुस्तकमै रमाउँने हुनाले मेरी आमाले मलाई किताबको गोठालो भएर खान्छस् कि क्या हो भन्नु हुन्थ्यो । र, उहाँ मायाले सुमसुम्यायर हाँस्दै भन्नुहुन्थ्यो- मेरो छोरो अक्षरको गोठालो हो । र, आज वास्तवमा म ज्ञान र पुस्तककै गोठालो भएँ ।
म लेखेरै जापान, सिंगापुर र अमेरिका पनि पुगें । लेखक भएरै बाँच्नलाई अमेरिकाबाट पनि फर्केर आएँ । त्यसैले म साँच्चिकै अक्षरको गोठालो हुँ कि क्या हो, मेरी आमाको प्यारो अक्षरको गोठालो ।
No comments:
Post a Comment